सचिवको सन्देश

Message from the Secretary

सुदूरपश्चिम प्रदेशको प्रमुख सहर धनगढीमा अवस्थित कैलाली जनपुस्तकालय सुदूरपश्चिमकै सबैभन्दा पुरानो सामुदायिक पुस्तकालय हो । यस पुस्तकालयको सचिवको हैसियतले तथा व्यक्तिगत रूपमा पनि, म तपाईं सबैलाई हाम्रो जनपुस्तकालयमा हार्दिक स्वागत गर्दछु । ज्ञान, सूचना र अध्ययनको पहुँच समुदायका सबै वर्गसम्म पुर्‍याउने हाम्रो साझा लक्ष्यमा तपाईंहरूको सहभागिता अत्यन्त महत्वपूर्ण छ ।
कैलाली जनपुस्तकालय केवल पुस्तकहरू र पत्रपत्रिकाकोे भण्डार मात्र नभई अध्ययन, अनुसन्धान, सिर्जनशीलता र आजीवन सिकाइको केन्द्रका रूपमा स्थापित हुँदै आएको छ । यहाँ साहित्य, शिक्षा, इतिहास, धर्मशास्त्र, समाजशास्त्र, विज्ञान, प्रविधि लगायत विभिन्न विषयका पुस्तक, पत्रपत्रिका तथा सन्दर्भ सामग्रीहरू उपलब्ध छन्, जसले विद्यार्थी, शिक्षक, प्राध्यापक, साहित्यकार, अनुसन्धानकर्ता तथा सर्वसाधारण पाठकहरूको पठन–पाठन आवश्यकतालाई सम्बोधन गर्दछ । उँहाहरुको पठन भोकलाई मेटाउने प्रयास गर्दछ ।
सानो फुसको झुप्रोबाट सुरु भएको कैलाली जनपुस्तकालय आजका दिनमा पुग्दा सुदूरपश्चिमकै सबैभन्दा ठुलो र सम्पन्न पुस्तकालयको रुपमा परिचय स्थापित गर्न सफल भएको छ । दुई ओटा तीन तले भवनबाट पुस्तकालयले आफ्नो सेवा प्रवाह गर्दै आइरहेको छ । पुस्तकालयमा विभिन्न बिधाका गरि  तेह्र हजारभन्दा बढी पुस्तकहरु रहेका छन् । करिब पाँच दर्जनभन्दा बढि बिभिन्न भाषाका स्थानिय तथा रास्ट्रिय दैनिक, साप्ताहिक, पाक्षिक तथा मासिक पत्रपत्रिकाहरु पुस्तकालयमा आउने गर्दछन् । लोकसेवा, शिक्षक सेवा, बैङ्किङ सेवा तथा विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरुको तयारीका लागि महत्वपूर्ण पठन सामग्रीहरु पनि पुस्तकालयले उपलब्ध गराउँदै आइरहेको छ । पुस्तकालयको व्यवस्थापन, सेवा विस्तार र स्रोत अभिवृद्धिमा निरन्तर सुधार ल्याउने उद्देश्यका साथ हामी प्रतिबद्ध छौँ । यस कार्यमा पुस्तकालयका कर्मचारी, सरोकारवाला निकाय तथा पाठक वर्गको सहयोग र सुझावलाई हामी उच्च मूल्याङ्कन गर्दछौँ ।
स्थापना कालदेखी नै कैलाली जनपुस्तकालयले धनगढीमा बिबिध साहित्यिक कार्यक्रमहरु गर्दै आइरहेको छ । कवि गोष्ठी, पुस्तक परिचर्चा, साहित्यिक अन्तरक्रिया, कविता प्रतियोगिता जस्ता थुप्रै कार्यक्रमहरु अहिले पनि निरन्तर चलिरहेका छन् । पुस्तकालयले संचालन गर्ने गरि धनगढीका विभिन्न ब्यक्तिहरुले साहित्यकारलाइ हौसला र प्रोत्साहन दिन तथा साहित्यिक कर्म र कृतिलाइ सम्मान गर्न दुई दर्जन भन्दा बढि रास्ट्रियस्तरका पुरस्कारहरु स्थापना गरेका छन् । पुस्तक प्रदर्शनी, छलफल कार्यक्रम, प्रशिक्षण, कार्यशाला, साहित्यिक कार्यक्रम आदि आयोजना गरी समुदायमा ज्ञान आदान–प्रदानको माहोल बनाउँदै आईरहेको छ । यहाँहरुलाई पनि यस्ता कार्यक्रहरुमा सहभागि भई लाभ लिनहुन अनुरोध गदछौँ ।
हामी शान्त, अध्ययनमैत्री, प्रविधीमैत्री र समावेशी वातावरणमा पठन संस्कृतिको विकास गर्दै समुदायको बौद्धिक उन्नतिमा योगदान पुर्‍याउन निरन्तर प्रयासरत छौँ । तपाईं सबैलाई पुस्तकालयका स्रोतहरूको सदुपयोग गर्न, अध्ययनशील वातावरणको लाभ लिन र जनपुस्तकालयलाई आफ्नो ज्ञान यात्राको अभिन्न अङ्ग बनाउन हार्दिक अनुरोध गर्दछु । 
कैलाली जनपुस्तकालयप्रति देखाउनु भएको विश्वास र सहयोगका लागि धन्यवाद । आगामी दिनहरूमा पनि तपाईंहरूको निरन्तर साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षा गर्दछौँ ।

सुभाष सङ्कल्प भण्डारी
सचिव
प्रबन्ध समिति
कैलाली जनपुस्तकालय
धनगढी, कैलाली