प्रस्तावना

मानवको सर्वाङ्गिन विकासको लागि ज्ञान महत्वपूर्ण पक्ष हो । प्रत्यक्ष र अप्रत्यक्ष ज्ञान मध्ये पुस्तकबाट प्रत्यक्ष ज्ञान प्राप्त हुने कुरा ध्रुव सत्य हो । भाषा, साहित्य, कला र संस्कृतिले मानवलाई पूर्णता प्रदान गर्दछ र यी हाम्रा सभ्यताका आधार हुन जीवनशैली हुन । यस्ता पक्षहरुको उन्नयन र परिस्कार बीना हाम्रो राष्ट्रिय स्वालम्वन र विश्व बन्धुत्व दरीलो बन्न सक्तैन । मानवीय श्रृजनामा अहं भूमिका निर्वाह गर्ने ज्ञानको भण्डार र मानवीय विकासको क्रममा आवश्यक तत्वहरुमध्ये पुस्तक महत्वपूर्ण पक्ष हो । भाषिक लिपीको माध्यमबाट लेखिने पुस्तकहरु नै ज्ञानका भण्डार हुन । सबै मानिसहरुले पुस्तक किनेर मात्रै पढ्न नसक्ने भएकोले विभिन्न प्रकारका विधानको अध्ययन, अनुसन्धान गर्न पुस्तकहरु संकलन गरेर राखिएको स्थानको आवश्यकताबाट पुस्तकालयको अवधारणाको विकास भएको भन्न सकिन्छ ।

सुदूर पश्चिमाञ्चल विकास क्षेत्रमा चेतनाको अभिवृद्धि गर्न, श्रृजनाको विकास गर्न, शैक्षिक जागरण पैदा गर्न, सर्वसाधारण सबैलाई सर्व शुलभ ढंगले पुस्तक, पत्र-पत्रिका, साहित्य आदि अध्ययन अनुसन्धान गर्न सेवा प्रदान गर्ने उद्देश्य अनुरुप २०१० सालमा स्थापित श्रीमती कमलादेवी पुस्तकालय र २०११ सालमा स्थापित श्री जनता पुस्तकालयलाई तत्कालिन संस्थापकहरुको आपसी सरसल्लाहबाट २०१४ सालमा एकीकृत गरी श्री कैलाली जन पुस्तकालय नामाकरण गरी स्थापना गरिएको र हालसम्म अविच्छिन्न रुपमा संचालन हुँदै आइरहेको यस पुस्तकालयको मौजुदा विधानलाई समयानुकूल परिमार्जन गर्न, संस्थाको चल अचल सम्पत्तिको संरक्षण, सम्बर्द्धन गर्न, विधिसम्मत ढंगबाट पुस्तकालयको दैनिक कार्य संचालन गर्न, विभिन्न प्रकारका ज्ञान वर्द्धक पुस्तक, पत्र-पत्रिकाहरु सर्वसाधारणलाई सर्वशुलभ ढंगले पढ्ने सेवा प्रदान गर्न कवि साहित्यकार, लेखक, विचारक, विद्वान, कलाकार, श्रृजनशील प्रतिभावान व्यक्तित्वहरुको सम्मान गर्न र भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न तथा विभिन्न क्षेत्रको अनुसन्धान, अन्वेषण कार्यमा सघाउ पुर्‍याउने उद्देश्य अनुरुप २१ औं शताब्दी अनुरुप पुस्तकालयका क्रियाकलापहरु संचालन गर्न यस पुस्तकालयको हालसम्म कार्यान्वयन भइरहेको समय-समयमा संशोधन हुँदै आएको जनस्तरमा स्थापित सार्वजनिक कैलाली जनपुस्तकालयको विधान २०३७ लाई अन्त गरी श्री कैलाली जनपुस्तकालयको विधान २०५७ को व्यवस्था गर्न वाञ्छनिय भएको हुँदा यो विधान तर्जुमा गरिएको छ ।